Logo

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन: अर्थमन्त्री



काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका हुन् ।

“अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्”, उनले भने ।

अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ । “अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् । तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमान्दार प्रयास हुनेछ”, अर्थमन्त्री महतले भने ।

उनले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताए । “धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन”, उनले भने, “ अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।” उनले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्