वीरगञ्ज, १५ असोज । वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।
फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो ।






