Logo

वीरगन्जमा कर्फ्यु लम्बियो



वीरगञ्ज, ३१ चैत । वीरगञ्जमा हनुमानको जन्म जयन्तीको अवसरमा निकालिएको शोभायात्राका सहभागी र छपकैयाका स्थानीय समुदायबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि शनिवार साँझ साढे ६ बजेदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले आईतवार राती १२ बजेसम्मका लागि बढाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आईतवार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिवार साँझ साढे ६ बजेदेखि आईतबार मध्यान्ह १२ बजेसम्म लगाईएको कर्फ्युको समयावधि थप गरी आईतबार राती १२ बजेसम्म पुर्‍याइएको जनाउनुभएको छ ।

स्थानीय प्रशासन ऐेन २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगञ्ज–१५ भेडियाही चोकदेखि पश्चिममा वीरगञ्ज–२५ सिर्सिया पुल, उत्तरमा वीरगञ्ज–१४ गण्डक चोक र दक्षिणमा वीरगञ्ज–१६ शंकराचार्य गेटसम्म कर्फ्यु लगाईएकोमा आईतबार राती १२ बजेसम्मका लागि भने पूर्वमा बाईपास रोड , पश्चिममा सिर्सिया पुल उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कफ्र्यूको समयावधि बढाईएको हो ।

कर्फ्यु अवधिमा तोकिएको स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, सभा, प्रदर्शन, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा जनाइएको छ । तनावग्रस्त बनेको क्षेत्रको जनजीवन सामान्य पार्न तथा अमनचयन कायम गर्न कसरी सकिन्छ भन्ने विषयमा आईतबार जिल्ला प्रशासन कार्यालय पर्साका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सर्वदलिय बैठक बसी बिभिन्न निर्णय समेत गरेको छ ।

सर्वदलिय बैठकले शान्ति अमन चयनमा खलल हुने किसिमको र्‍याली , बन्द जस्ता कुनैपनि गतिबिधि संघ संस्था एंव समुदायले नगर्ने सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी शुक्रबारको झडपमा घाईते भएका सुरक्षाकर्मी , सञ्चारकर्मी तथा आम नागरिक सबैको उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग गर्ने, शनिबार निकालिएको शोभायात्रामा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याई कानुनी कारवाहीको माग गर्ने लगायतका तीन निर्णय सर्वदलिय बैठकले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्