काठमाडौँ, १ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ ।
न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा एमबिबिएस तथा अन्य विषय अध्यापनका लागि तयारी गरिसकेको जानकारी दिए । उनका अनुसार स्नातक तहमा अध्यापन गर्ने सम्बन्धमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षाध्यक्ष प्राडा लोचन कार्की संयोजक छन् । समितिमा डा. अशेष ढुङ्गाना, डा. पवन हमाल, डा. सन्ध्या चापागाईं, डा. अनुपमा कार्की तथा प्रशासन र लेखा शाखाका प्रतिनिधि सदस्य छन् । समितिले पूर्वाधार, जनशक्ति, आर्थिक खर्चलगायतको विषयमा विस्तृत अध्ययन गर्ने छ ।
वीरमा एमबिबिएसलगायतका अन्य विषयमा स्नातक अध्यापन थाल्दा ७५ प्रतिशत छात्रवृत्तिमा गरिब तथा जेहेनदार विद्यार्थीले अवसर पाउने छन् । न्याम्सका उपकुलपति प्राडा बस्नेतले एमबिबिएस, नर्सिङ, फार्मेसीलगायत अध्ययन हुँदा अधिकांश विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएकाले तत्काल चिकित्सा शिक्षा आयोगलाई सिट निर्धारणका लागि आग्रह गर्ने बताए ।
समितिका संयोजक डा. कार्कीका अनुसार एमबिबिएसलगायतका विषयको स्नातक तहमा अध्यापन सुरु गर्ने सम्बन्धमा विस्तृत अध्ययनका लागि गृहकार्य अगाडि बढाइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







