काठमाडौँ, ४ वैशाख । तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ । दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उनकी आमाको भने निधन भएको थियो ।
नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद भण्डारीलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो । नयाँ वर्ष २०८० का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले अब आफू नेपालमा नै आएर उपचार गर्ने बताएका छन् ।
सोही घटनाबाट नेपालमा राज्य तहमा जलन अस्पताल नरहेको उजागर भएको थियो । त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएको भोलिपल्ट २०७९ फागुन ५ गते वीर अस्पतालका कार्यकारी निर्देशकमा नियुक्त भएका डा. सन्तोष पौडेलले पहिलो निर्णय गर्दै तीन महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको दुई महिना हुन लागेको छ। अबको एक महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष सञ्चालनमा आइसक्नुपर्ने हुन्छ ।
कार्यकारी निर्देशक डा. पौडेलले भौतिक पूर्वाधार तयार भए पनि उपकरण र जनशक्ति आवश्यक रहेको जानकारी दिए । उनले जलन उपचार कक्ष निर्माणका लागि प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेलको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा काम अघि बढिसकेको बताए ।
उक्त समितिले जलन वार्ड कहाँ राख्ने, कति क्षमताको हुने, जनशक्ति कति राख्ने, अन्य उपकरण के कति राख्ने भन्ने विस्तृत विवरणसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा जनशक्ति, भौतिक पूर्वाधार र उपकरणलगायतको प्रक्षेपण छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।