Logo

वीर अस्पताल आर्थिक संकटमा



काठमाडौँ, १३ पुस । वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ । चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो । आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन् । एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो ।

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको लेखा शाखा प्रमुख थमनारायण शर्माले बताए। उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ। अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न नसक्ने अवस्था निम्तिएको उनले बताए ।

लेखा प्रमुख शर्माका अनुसार वीरले दोब्बर क्षमता विस्तार गरिसकेको अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबिकको भन्दा अझै कम बजेट दिएकाले जटिल परिस्थिति सिर्जना भएको हो । ४६० शड्ढया हुँदा जति बजेट आउँथ्यो ९६० शड्ढया पुगिसक्दा पनि पहिलाको भन्दा झनै कम बजेट विनियोजन गरिएको उनको भनाइ छ । त्यसमाथि भिआइपी र भिभिआइपी उपचार कक्ष विस्तार भएपछि स्वाभाविक रूपमा खर्च बढेको शर्माले बताए । ७०० शड्ढया निःशुल्क गरेपछि त झनै आर्थिक भार बढेको उनले जानकारी दिए । वीरमा दैनिक २५ सयदेखि ३ हजार बिरामी सेवा लिन पुग्छन् । आर्थिक वर्ष २०७८र७९ मा वीर अस्पतालका लागि २ अर्ब बजेट निकासा भएको थियो ।

२०७९र८० मा १ अर्ब ४३ करोेड रूपैयाँ मात्र विनियोजन भयो । चालु आर्थिक वर्षमा ७३ करोड विनियोेजन गरिएको छ, जुन अस्पतालमा विस्तार भएको सेवा, सुविधा र कर्मचारीको खर्च धान्न पनि अपुग हुने बताइएको छ । गत वर्ष उपचार सामग्री खरिदमा मात्र ६० करोड ६० लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो । ‘यो वर्ष कुल बजेट ७३ करोडले कसरी सबै खर्च धान्न सम्भव छ,’ लेखा प्रमुख शर्माले भने ।

यसैबीच बिरामीलाई खाना खुवाउन हम्मे परेको खबर सञ्चारमाध्यममा आएपछि अर्थ मन्त्रालयले बिहीबार ४ करोड ५० लाख रूपैयाँ निकासा गरेको अनौपचारिक जानकारी प्राप्त भएको शर्माले बताए । अहिलेको संकटमा त्यति रकमले एक छेउ पनि टार्न नसक्ने भन्दै त्यसलाई वीरले स्विकार्न नसक्ने उनले बताए । ‘मन्त्रालयले दिन लागेको रकम आवश्यकताभन्दा निकै कम भएकाले लिन सकिन्नँ,’ उनले भने। विनियोजित बजेटमा पनि खाद्यान्न, अक्सिजन र मर्मतका लागि शून्य सिलिङ भएकाले थप संकट देखिएको अस्पतालको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्