
काठमाडौं, ६ साउन । एसीसी महिला एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्धको खेलमा नेपाल ९ वीकेटले पराजीत भएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला पाकिस्तानले टस जितर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै ६ वीकेट गुमाएर १०८ रन जोडेको थियो । १०९ रनको लक्ष्य लिएर मैदान उत्रीएको पाकीस्तानले ११.५ ओभर खेल्दै मात्र एक वीकेटको क्षतीमा लक्ष्य भेट्टायो ।
पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाइन् भने मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।
यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । २३ बलको सामना गरेकी जोशीले चार चाैका र एक छक्का प्रहार गरिन् ।
सिता राना मगरले २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो । ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।
कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।







