
काठमाडौं, ६ साउन । एसीसी महिला एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला पाकिस्तानले टस जितर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। आज नै भएको समूह एको खेलमा भारतले युएईलाई ७३ रनले पराजित गरेका छ ।
समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।
समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।







