जिम्बावे, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए ।
त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्स एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाएका हुन् ।
बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिएका थिए ।