काठमाडौं, २८ जेठ । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली इङ्ग्ल्यान्डको ‘क्लिन स्वीप’ गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ३७ रनले हराउँदै इङ्ग्ल्यान्डले टी–२० शृङ्खला ३–० ले जितेको हो ।
इङ्ग्ल्यान्डले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका रोमभ्यान पावेलले सबैभन्दा धेरै नटआउट ७९ रन बनाए । इङ्ग्ल्यान्डका लुक वूडले ३ विकेट लिए ।
यसअघि साउथ्याम्पटनमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४८ रन बनायो । इङ्ग्ल्यान्डका बेन डकेटले ८४ रन बनाए । वेस्ट इन्डिजका एकेल होसेन, गुदाकेश मोटी र शेरफेन रथरफोर्डले १/१ विकेट लिए ।
यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि इङ्ग्ल्यान्डले ‘क्लिन स्वीप’ गरेको थियो ।