Logo

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला न्युजिल्यान्डलाई



वेस्टइन्डिज, २८ साउन । घरेलु टोली वेस्टइन्डिजसँगको तीन खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेल अगाडि नै जितेको छ ।

दोस्रो टी-२० मा वेस्टइन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २-०ले  जितेको हो ।

जितका लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनायो । वेस्टइन्डिजका ओबेद म्याककोय सर्वाधिक २३ रनमा अविजित रहे । न्युजिल्यान्डका मिचेल सान्टनार र माइकल ब्रेसवेलले ३-३ विकेट लिएका थिए ।

टिम साउथी र इश सोधीले एक-एक विकेट लिए । त्यसअघि सविना पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ७६ रन बनाए ।

वेस्टइन्डिजका ओबेद म्याकोयले ३ विकेट लिए । रोमारियो शेफर्ड र ओडेन स्मिथले एक-एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्