काठमाडौँ, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २ सय ४ रन बनाएको हो ।
पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।