Logo

वैदेशिक रोजगारबाट फर्किएका महिलालाई कपडा बुन्ने तालिम



फायल तस्बिर

झापा, १९ कात्तिक । वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्किएका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–४ र शक्ति नेपालको सहकार्यमा शुक्रबारदेखि कपडा बुन्ने तालिम सुरु भएको छ । वडाले हरिबोधनी एकादशीको अवसर पारेर विशेष तालिम सेन्टरको स्थापना गरी महिलालाई शक्ति नेपालको सहयोगमा कपडाको खादा, बर्की, साडी र खास्टो बनाउने तालिम सुरु गरेको हो ।

प्रत्येक तीन महिनाका दरले वार्षिक रूपमा चलाइने तालिममा एकपटकमा १५ महिलाले सीप सिक्न सक्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । उनले शक्ति नेपालले दिएको रु एक लाख ६० हजार रकममा चार वटा कपडा बुन्ने तान, आवश्यक कच्चापदार्थ खरिद गरिएको र थप खर्च वडाले नै व्यहोर्ने बताए । उनले तीन महिनाभित्रमा १५ वटा तानको व्यवस्था गरेर थप महिलालाई तालिममा सहभागी गराउने बताए ।

“धेरै महिला विगतमा स्वदेशमा रोजगारी नहुँदा विदेसिनुभयो । विदेशमा चरम हिंसाको सिकार बनेर फर्किनुभएका दिदीबहिनीहरूलाई तालिमको माध्यमबाट आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्य छ”, कार्कीले भने । उनले महिलाले उत्पादन गरेका सामग्रीको वडा कार्यालय आफैँले बजारीकरणमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्