काठमाडौं , ९ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ । सो विवरण वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारको हो । यस अवधिमा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ ।
ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन् । यो तथ्याङ्क उजुरीमा परेका आधारको हो तर सबै ठगिनेले उजुरी गर्दैनन् । यस आधारमा ठगीमा पर्ने अरू बढी रहेको अनुमान विभागको छ ।
विभागमा परेका उजुरी फस्र्योट पनि हुने गरेका छन् । विभागका अनुसार आधाभन्दा बढी फस्र्योट भएका छन् । चालु आव २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये दुई हजार १११ वटा (५१.८९ प्रतिशत) फस्र्योट गराउँदा १९ करोड ३९ लाख ८६ हजार ३० रुपियाँ बराबर क्षतिपूर्ति भराइएको छ ।
विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा एक हजार ७०८ वटा छन् । जसमध्ये एक हजार ६४४ वटा उजुरी फस्र्योट भए भने ११ वटा उजुरीमा मिलापत्र गराइएको छ । यसमा ११ लाख ५४ हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । प्रहरीमा दर्ता भएका ६६ वटा फस्र्योट हुन बाँकी छन् ।
यसै गरी सो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार ५६१ वटा उजुरीको १४ करोड ६७ लाख ६१ हजार ५३० रुपियाँ दाबी गरिएको छ । सो शाखामा परेका उजुरीमध्ये २६० वटा उजुरीको मिलापत्र भएका छन् भने ७८ वटा उजुरी अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । त्यसै गरी उद्धार, राहत तथा समन्वय शाखामा ८२० वटा उजुरी परेकामा ४७७ वटा फस्र्योट भएका छन् । सो शाखामा यस अवधिमा परेका उजुरीमध्ये ३७६ वटा उजुरीमा चार करोड छ लाख ७० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराइएको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै छ । उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ ।
महानिर्देशक खत्रीले उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताउनुभयो ।
व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा वैदेशिक रोजगार कम्पनी, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानाडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार वैदेशिक रोजगार कम्पनीका नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरमा बढी जाने गरेको छ ।
७८ वटा मुद्दा दायर
विभागका अनुसार चालु आवमा परेका उजुरीमध्ये ७८ वटा मुद्दा अदालतमा दायर भएका छन् । जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका छन् । सात/आठ वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका पनि मुद्दा छन् । अदालतमा दायर भएका मुद्दाको नौ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति रकम दाबी भएको विभागले जनाएको छ,गोरखापत्र दैनिकमा खबर छ । ।