काठमाण्डौ, १७ पुस । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।
मन्त्रालयले सूचना निकालेर वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि २०७६ अनुसार पुरस्कृत गर्न लागिएको जनाएको छ । साथै मन्त्रालयले त्यस्ता उद्यमीलाई २१ दिनभित्र आवेदन दिन आह्वान समेत गरेको छ ।
कार्य भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् ।
यस्तै विगतमा पुरस्कारका लागि आवेदन पेश गरेको तर छनौटमा नपरेका उद्यमीले पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसबाट स्वरोजगारीलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।