काठमाडौँ, ५ असोज । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ ।
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा नयाँ, म्यानपावरमार्फत र पुनः श्रम स्वीकृति गरी ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला गरी ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यो सङ्ख्या चालु आर्थिक वर्षको साउन महिनाको भन्दा पनि बढी हो । साउन महिनामा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए । साउन महिनामा भन्दा भदौ महिनामा १३ हजार ३६४ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।