Logo

व्यवसायीलाई समस्यामा पार्न खोजेको होइन: शर्मा



काठमाडौँ, २७ जेठ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउ,तेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।

त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकीकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।

“बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन”, उनले भने, “हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।”

महिलालाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराएका थिए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्