Logo

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ (भिडीओ)



काठमाडौँ, ६ असोज  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।

भर्‍याङ लगाएर कम्पाउन्डमा प्रहरी प्रवेश गरेको घटनास्थल कमेरोटारमा रहेका नेपाल प्रेस संवाददाता दिनेश थापाले जानकारी दिए । घरभित्र प्रसाईं र उनीसँगै रहने केही युट्युबर थिए ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उहाँहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्