दाङ, १३ पुस । उद्योगी व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन् ।
बैंकले वृद्धि गरेको ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । बैंकको ब्याजको विरोधमा अहिले देशभर आन्दोलन भइरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बुधवार विरोध कार्यक्रम आयोजना गरेका हुन् ।
विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग सम्बोधन गर्न भन्दै ज्ञापनपत्र पेश गरेको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।
आन्दोलनमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघहरू, दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, वस्तुगत समिति तथा विभिन्न संघ संस्था सहभागी छन् ।
आन्दोलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले राष्ट्र बैंकको ज्यादतीका विरोधमा आफूहरू चुप लागेर नबस्ने बताए ।
उनले बैंकहरूले व्यवसायीलाई धम्क्याउन तत्काल बन्द नगरे देशभरका व्यवसायीहरू आन्दोलित हुने पनि चेतावनी दिए।
त्यस अवसरमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल प्रधानले देशभर बैंकहरूको चर्को ब्याजदरको भार थेग्न नसकेर ६ जना व्यवसायीले देह त्याग गरेको जानकारी दिए ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले व्यवसायीहरू साँवा र ब्याज तिर्न तयार भएको अवस्थामा बैंकहरूले मानसिक तनाव दिन नमिल्ने बताए ।






