काठमाण्डौ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट हुुदैछद ।
यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको संसदको पाँचौ ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने मत राख्दै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट राप्रपा उत्साहित देखिन्छ ।
ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिँदै व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको राजनीतिक दलहरुप्रति कटाक्ष गर्नुभएको थियो ।
लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नुहुनेछ।
राप्रपाले कहाँ कहिले गर्दैछ भण्डाफोर सभा ?
गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते,
लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते,
सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते,
मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते,
बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र
कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते ।