Logo

शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवं गरुड महापुराण पाठ प्रवचन हुने



झापा, २१ भदौ । झापाको अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवं गरुड महापुराण पाठ प्रवचन हुने भएको छ ।

शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म र्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवम् गरुड महापुराण पाठ प्रवचन हुने शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको हो ।

१५१ जना पण्डित सहभागी हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने शंकराचार्यपीठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले बताउनुभयो ।

दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्तर्गत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला (गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने अध्यक्ष खतिवडाले बताउनुभयो ।

भगवान शिवको पूजा आराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ती हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले दावी गर्नुभयो ।

यसैबिच शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको भूमिपुजन गरिएको छ । शंकराचार्यपीठका संस्थापक एवम् प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भएको यज्ञस्थलमा भूमिपुजन सम्पन्न भएपछि सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा जोतिएको थियो ।

पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले शंकराचार्यपीठको उक्त पूण्य कार्यलाई झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थाका प्रमुख संरक्षक केदारनाथ खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद नेपालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्