काठमाडौँ, ८ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् ।
काठमाडौँमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुण दलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखेका थिए ।
“पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस”, उनले भने ।
युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उनको अवधारणा छ ।
“पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उनले भने ।
वि.सं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्यूँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिए ।
“वि.सं २०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । वि.सं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उनले भने, “अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।”







