Logo

शक्ति सुदृढीकरणका लागि पार्टीलाई नयाँ शिराबाट अघि बढाऔं ः नेपाल



काठमाडौँ, १७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । पार्टीको शनिबार जारी स्थायी समितिको बैठकमा अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन् । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउने योजना बनाउनु पर्ने बताए ।

स्थायी समितिका केही सदस्यले धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरेको हो । शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबारको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

महासचिव डा बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरे । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ ।

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्