Logo

शनिश्चरेलाई हराउँदै न्यू स्टार विजयी



मेचीनगर, १ फागुन । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा न्यू स्टार फुटबल क्लब खोपवाडी विजयी भएको छ ।

शनिश्चरे फुटबल क्लबलाई ३-२ गोलअन्तरले हराउँदै न्यू स्टार क्लब विजयी भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३८ औँ मिनेटमा गोल गर्दै शनिश्चरेका पेम्बा तामाङले टिमलाई अग्रता दिलाएका थिए । तर ५० औँ मिनेटमा न्यू स्टारका तर्फबाट विशाल लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए ।

तर ५६ औँ मिनेटमा शनिश्चरेले पुन १ गोल गर्यो । शनिश्चरेका विशाल खवासले ५६ औँ मिनेटमा गोल गर्दै टिमलाई अगाडी बढाएका थिए । तर शनिश्चरेको अग्रता धेरैबेर टिक्न सकेन । ५६ औँ मिनेटमै न्यू स्टारका दिपेश श्रेष्ठले गरेको गोल मार्फत खेल २-२ को बराबरीमा पुगेको थियो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलमा निर्णायक गोल भने न्यू स्टार खोपवाडीका तर्फबाट सानुका साँवा लिम्बुले ७० औँ मिनेटमा गर्न सफल भए । उनको गोल नै न्यू स्टारलाई विजयी बनाउन सफल बन्यो ।

सोमबारको खेलको म्यान अफ द म्याच विजेता टिमका क्याप्टेन समेत रहेका विशाल लिम्बु घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्