काठमाडौँ, २७ वैशाख । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।
बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, “अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।”
नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताएका हुन् ।
सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताए ।
“कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ”, उनले भने ।
सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उनले आगामी वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिए ।







