Logo

‘शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ’



काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले) का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले भने, “नक्कली भुटानी शरणार्थी प्रकरण २००७ साल यताकै देश र जनताको विरुद्धको सबैभन्दा ठूलो प्रकरण हो । यो मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ ।”

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचविखन र राज्यविरुद्धको अपराध भएको उनको भनाइ छ ।

उनले विगतमा पनि देशमा भएका भ्रष्टाचारका ठूला काण्डहरू दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका जनतामा रहेको बताए ।

रावलले उक्त प्रकरणमा फरार टोपबहादुर रायमाझीलाई खोज्ने काम राज्यको भएको जिकिर गरे । उनले अनुसन्धान गर्ने प्रहरीलाई बल पुग्नेगरी नागरिकलगायत सबैले साथ दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्