काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको दाबी गरेका छन् ।
बिहीवार काठमाडौँमा राप्रपाले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् ।
उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दु:खदायी रहेको बताए । उनले विश्व जगत्मा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबल र विदेशीको चासोमा अघि बढेको बताए। उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताएका छन् ।
उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसले उन्मुक्ति पाउन नहुने बताए । उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दा चल्नुपर्ने माग गरे । उनले अपराधमा संलग्नहरूलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपराध मुद्दा चलाउन आग्रह गरे । उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न गोडा कमाउन नहुने बताए ।
उनले भने, ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखियो। योभन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला? यो जस्तो लज्जास्पद र दु:खदायी कुरा अरू केही पनि हुन सक्दैन ।’







