झापा, ३ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेपछि झापा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छनोट प्रक्रिया फेरि अघि बढाइएको छ।
आज बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले केन्द्रीय समितिमा सिफारिस गर्न पाँच जनाको नाम टुंगो लगाएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार सिफारिस सूचीमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू परेका छन्।
विश्वप्रकाश शर्मा विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसअघि गत महिना क्षेत्रीय समितिले शर्माकै एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर उनले यसपटक चुनावी प्रतिस्पर्धामा नउत्रिने घोषणा गरेपछि क्षेत्रीय समितिले नयाँ नामहरू सिफारिस गरेको सभापति बुढाथोकीले बताए।
अब अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने जनाइएको छ।







