दाङ, १६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् ।
दाङको घोराही उपमहानगरपालिका-१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान उदघाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताएकी हुन् ।
उनले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन् ।
वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताएकी थिइन् । इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताएकी हुन् ।
शान्ति प्रक्रियापछि पार्टी पटक-पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पु¥याउन यो अभियान सुरु गरिएको बताएकी छन् ।







