काठमाडौँ, १४ फागुन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताएका छन् ।
सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी, राष्ट्रमा मेलमिलाप कायम हुनेगरी र दिगो शान्ति कायम हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्ने बताएका छन् ।
उनले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक पारित गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढङ्गले फेरि पूर्णता दिनुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
‘‘अहिले टिआरसी बिल किन पारित भइरहेको छैन? किन अड्किरहेको छ भनेर सबैले कराइरहनुपर्यो नि । त्यो राष्ट्रिय सहमतिको विषय हुनुपर्दैन? सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक हामीले पारित गर्नैपर्छ । त्यो ऐन बनेर हामीले यो सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढङ्गले फेरि पूर्णता दिनैपर्छ ।,’’ गृहमन्त्री श्रेष्ठले भने, ‘‘हामीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई र शान्ति प्रक्रियालाई पूरा गर्नैपर्छ । पीडितलाई न्याय दिनेगरी, राष्ट्रमा मेलमिलाप कायम हुनेगरी र दिगो शान्ति कायम हुनेगरी अघि बढ्नुपर्छ । यसमा राष्ट्रिय सहमति बन्नुपर्छ । यसमा मेरो अपिल छ ।’’
मन्त्री श्रेष्ठले सरकारको चाँडै नै प्रहरी समायोजन गर्ने तर प्रहरी समायोजनसँग जोडिएका नेपाल प्रहरी ऐनलाई विधेयकको रूपमा संसदमा प्रस्तुत गरी प्रहरी समायोजन ऐनलाई संशोधन गर्ने विषय राखेर नेपाल प्रहरी प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण समन्वय ऐन संशोधन विधेयक प्रस्तुत गर्ने बताए ।







