Logo

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ: प्रधानमन्त्री



गोरखा, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका हुन् ।

“अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ”, उनले भने, “हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउनेछौँ ।”

उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताए । एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ ।

“अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।”

उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरेका थिए ।

उनले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्