Logo

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर: भट्टराई



काठमाडौँ, २३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा उनले पछिल्लो समय बृहत् शान्ति सम्झौताको मर्मविपरीतका कार्य भएको जिकिर गरेका हुन् ।

उनले शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा चलाउने कुरा गम्भीर विषय भएको उल्लेख गरेका थिए ।

आफूहरूले अदालतको सम्मान गर्ने भन्दै उनले शान्ति सम्झौता संविधानकै एउटा अंग भएको बताए । द्वन्द्वकालीन मुद्दाहरूलाई आयोगमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

द्वन्द्वकालीन मुद्दाहरूलाई निरुपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरवादीहरूले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन नदिएको आरोप उनले लगाए । संविधानमा रहेका जनताका अधिकारलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षड्यन्त्रहरू भइरहेको उनको भनाइ छ ।

उनले संविधानमा केही त्रुटि रहेकाले आउँदो दिनमा सबैलाई समान अधिकार दिनका लागि संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्