काठमाडौँ, २३ फागुन । माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् ।
पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन माओवादीका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका छन् ।
“सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत छौँ । शान्ति प्रक्रियाका बाँकी काम शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ”, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । शान्ति सम्झौता अनुसार गठन भएको सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमा समेत बैठकमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।
“सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ”, विज्ञप्तिमा भनिएको छ, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दछौ ।”
शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न आफूहरु एकमत रहेको बैठकले ठहर गरेको छ ।







