
काठमाडौँ, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन् ।
माओवादी धारका पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताए ।
देशमा विद्यमान समस्या समाधानका लागि आफूहरु मात्रै नभइ यससँग सरोकार राख्ने सबैको साझा प्रयास जरुरी रहेको उनको भनाइ छ ।
नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमीले विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका गतिविधि देखिएकाले आफूहरु एकै ठाँउमा आइपुगेको बताएका हुन् ।
उनले अन्तरिम संविधान, शान्ति सम्झौता र दोस्रो जनआन्दोलन तथा विगतमा भएको सहमतिको बर्खिलापका गतिविधिकाविरुद्ध आफूहरु एकै ठाउँमा उभिएको बताएका छन् ।