धनकुटा, ३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेको छ ।
नगरको असार २० गते भएको नवौँ नगरसभामा सो निर्णय पारित गरेको हो । नगरपालिकाले सोमबार सबै विद्यालयलाई परिपत्र समेत गरेको छ ।
शिक्षकहरु पढाइमा भन्दा पनि राजनीतिमा बढी सकृय भएका कारण तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि यस्तो निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए ।
नगरपालिकाले राजनीति वा शिक्षण पेशामध्ये एक मात्र रोज्न समेत आग्रह गरेको छ । नगरले गरेको यो निर्णय नमानेको खण्डमा त्यस्ता शिक्षकलाई प्रक्रिया पूरा गरी बर्खास्त गरिने समेत रायले जानकारी दिए ।