बागलुङ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।
बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् ।
मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।
नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए ।
उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ ।







