कुरो २०३९ सालको हो। मध्य बर्खाको एक बिहान उनी आँगन पर्तिरको गरामा एकधुनमा हलगोरु जोतिरहेका थिए। एकाएक कसैले बोलाएको आवाज सुने। यसो हेरे, खेतको आलीमा उनकै स्कूले साथी टीका पौडेल थिए।
“बुद्धि, तेरो नाम फिजिक्समा निस्किएछ, भर्ना हुने आजै अन्तिम म्याद रहेछ, हिंडिहाल्”, पौडेलले एकैसासमा यसो भनिभ्याए। यी पौडेल भने जीवविज्ञान (बायोलोजी) विषयमा नाम निकालेर भर्खरै आईएस्सी भर्ना भइसकेका थिए ।
अनौ समाएर गोरुको ढाडमा बाँसको सिर्कनु हानिरहेका बुद्धिले तत्क्षण गोरु रोके। अर्काे गरामा गोरु जोतिरहेका बाबु भद्रमान राईले पनि छोराको साथीको सन्देश सुनिरहेका थिए। भद्रमानले छोरालाई आदेशको लवजमा भने, “तुरुन्त गोरु फुकाएर खाजा खा, अनि गइहाल्।”
छोराको विज्ञान पढ्ने धोको बुझेका यी भूतपूर्व बेलायती गोर्खा सैनिकले श्रीमती ललिसरालाई पनि टाढैबाट आदेश दिए, “मेरो सिरानी मुनिबाट झिकेर यसलाई सातसय रुपैयाँ दिइहाल्।”
एक बोरा चामल र लगाउने फेरफार कपडाको गुण्टा र भर्खर नुहाएको चिसै कपालसँग बुद्धिले उत्तरको बाटो समाते। दुई घण्टामा झिलझिले बजार पुगे। करीब ७० किलोमिटर टाढा उत्तर–पश्चिमको धरान शहर पुग्न त्यो बेलाको एक्सप्रेस बसले चार घण्टा लगायो।
त्यही दिन दिउँसो ३ बजे बुद्धिले हात्तीसार क्याम्पसका नामले चिनिने केन्द्रीय प्रविधि क्याम्पसमा भौतिक विज्ञान विषयमा आईएस्सीमा नाम लेखाए।
“साथीले खबर नल्याएको वा घरमा पैसाको जोहो नभएको भए आज म कि गाउँमै अनौ समातिरहेको हुन्थें कि खाडीमा पसिना पोखिरहेको”, हाल संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ हवाईमा भौतिकशास्त्र विभागका सह–प्राध्यापक डा. बुद्धि राई सम्झन्छन्, “अवधि नपुगी सेनाबाट रिटायर्ड भएका बाबुको पेन्सन नाममात्रको थियो। दुःख गरेर मलाई साइन्स पढाएकाले मात्र म अहिले फरक बनें।”
बुद्धि मंसीर २०२२ मा खोटाङको हलेसी दुर्छिम (हाल हलेसी तुवाचुङ नगरपालिका) मा जन्मिए। तर, औलो उन्मूलनपछि खेती गरेर खान सकिन्छ भन्ने दौंतरीका भनाइ सुनेपछि आँटले भद्रमानले २०२८ सालमा पहिलोपटक माइला छोरा बुद्धि र माइली छोरी छविसरालाई तराईको झापा झारे। र, भर्खरै झोडा खुलेको झिलझिलेको फर्सिडाँगीमा टहरा बनाए। अर्को वर्ष श्रीमती, अर्का एक छोरा र चार छोरीलाई पनि बोलाए।
पढेका मान्छेको जीवन सुखी हुन्छ भन्ने बुझेका भद्रमानले छोराछोरीलाई पढाउन पनि तराई झार्नु थियो।
डा. राईले साढे चारदशक अघि घाँस–दाउरा र हलो–कोदालो गर्दै माध्यमिक तह पूरा गरेको मध्य दक्षिण झापाको शिवगञ्ज नजिकैको फर्सिडाँगी अहिले पनि सुगम गनिन्न। कक्षा १ देखि ३ सम्म पढाइ हुने भानु प्रावि पुग्न उनलाई घरदेखि एकतर्फी एकघण्टा हिंड्नुपथ्र्यो, त्यो पनि खालीखुट्टा।
तराईमा भर्खर झरेको पहाडी परिवार। घरव्यवहार चलाउन खेत, खलियानको काम त गर्नै पर्दथ्यो। हुर्किएका वस्तु-बाख्रा र कुखुरा बेच्न पाँच घण्टा हिंडेर पश्चिमको दमक र पूर्वको घैलाडुब्बा बजारसम्म पुग्नुपर्दथ्यो।
बालक बुद्धिले बजार जान मन गर्नु भनेको नयाँ कुरा देख्नु र स्कूलका साथीहरूका अगाडि धक्कु लगाउनु पनि थियो। हरेक साता आइतबार बजार लाग्ने शिवगञ्ज जाँदा बाटाकै आडमा पकाएको जुलेवी खाएको, चरा मार्न खेत र जंगल गएको, मंसीरमा सिलाधान बेचेर चप्पल किनेको, दशैंको मुखमा सनपाट र बाँस जुटाएर लिङ्गे पीङ हालेको, पर्म–पैंचो गरेर जोत्ने-रोप्ने गरेको !
छुट्टीमा साइकलमा कनकाई नदीको दोमुखा र दमकको हिमालय चिया बगानमा घुम्न र पिकनिक खान पुग्थे। कनकाईको भेलमा बाँकटे हान्दै पौडिन्थे। वस्तुका पुच्छर निमोठ्दै गोठालो जान्थे।
“त्यो ठाउँ र ती दिनहरू कम्ती मीठा थिएनन्।” यस्ता अनेक सम्झनाको पोयो फुकाउँदै उनी भन्छन्।
कक्षा ४ देखि १० सम्म भने उनले शिवगञ्जको जनआदर्श माविमा पढे। छोराको पढाइको लगाव देखेर यसबीच २०३५ सालमा भद्रमानले वस्तुभाउ बेचेरै भए पनि अंग्रेजी माध्यमका स्कूलमा भर्ना गराउने योजना पनि बनाए। यसका लागि बाबुछोरा सीमा जोडिएको भारत पश्चिम बंगालको कालिम्पोङ जान हिंडे। तर, सिलिगुढीमा पकेटमारले बाबुको सबै पैसा चोरिदियो। निरीह बाबुछोरा बेखर्ची भएर घर फर्के। “त्यसरी अंग्रेजी माध्यमको राम्रो स्कूल पढ्ने सपनाको अन्त्य भयो”, उनी भन्छन्।
उनको एसएलसी परीक्षाको केन्द्र भने गाउँदेखि करीब ३० किलोमिटर टाढा दमक बजारस्थित हिमालय माध्यमिक विद्यालय थियो। एसएलसीकै लागि दमकमा डेरा बसेको सम्झिंदै उनी भन्छन्, “पिंडुला बाउँडिने गरी साइकल कुदाउँदै धेरैपटक फर्सिडाँगी-दमक गरेको छु।”
धरान-काठमाडौं-हवाई
विज्ञान विषयमा उच्च शिक्षा पढाइ हुने विराटनगर क्याम्पसको तुलनामा विद्यार्थी राजनीति अलि कम हुने गरेकाले पनि धेरैले धरानको हात्तीसार क्याम्पस नै ताक्दथे। भर्ना भएकै पहिलो महीनामा लिइएको १०० पूर्णाङ्कको एउटा परीक्षामा बुद्धिले ९३ अंक ल्याए। त्यो नतिजाले उनलाई आफ्नो ब्याचमा चिनायो र उनमा ‘राम्रै गर्ने रहेछु’ भन्ने आँट पनि दिलायो।
२०४४ सालमा प्रथम डिभिजनमा आईएस्सी उत्तीर्ण गरेपछि बुद्धि काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा बीएस्सी भर्ना भए। इन्जिनियर बन्ने बाल्यकालको सपनाले गाँज हालिरहेको थियो। २०४६ सालमा अस्कलबाट दोस्रो श्रेणीमा बीएस्सी र २०५३ सालमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरे।
काठमाडौं पढिरहेको छोरोले सधैं घरबाट खर्च र चामल-आलु मगाएर साध्य चल्दैनथ्यो। क्याम्पस पढिरहँदा बुद्धिलाई आफैं पनि सकेको कमाइ गर्नुपर्छ भन्ने लाग्यो। पढ्ने-पढाउने क्रम एकसाथ चल्यो। एकसाथ अस्कल र पद्म कन्या क्याम्पसमा पनि उनले पढाए।
२०५८ सालताका बूढानीलकण्ठ र सेन्ट जेभियर्समा पढाउने साथीहरूको बरोबर भेट भइरहन्थ्यो। रत्नपार्कमा भएको एउटा भेटमा उनी पनि निम्त्याइए। त्यहाँ कसैले उनलाई भौतिकशास्त्रका लागि अमेरिकामा छात्रवृत्ति पाइने कुरा सुनायो।
बुद्धिले छात्रवृत्तिको लागि आवेदन दिए। त्यसको एक वर्षपछि वेस्टर्न इलियोनोय युनिभर्सिटी र सेन्ट्रल मिसिगन युनिभर्सिटीबाट भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति पाए। “मलाई मेरै पोल्टामा जून-घाम आए जस्तै भयो”, उनी भन्छन्।
बुद्धिले अध्ययनका लागि सेन्ट्रल मिसिगन छाने। तर, काठमाडौंमा डेरा बसेर पढाइरहेका बुद्धिका लागि कमाइले धानिन मात्र पुगेको थियो। अमेरिका जाने निधो भएपछि मिटर ब्याजमा ऋण दिन्छु भन्ने चिनेजानेका पनि निस्किए। “म ऋण काढेर अमेरिका उडेको हुँ”, भदौ २०५९ सालमा मिसिगनमा आइपुगेका उनी भन्छन्।
कक्षा ४ मा मात्र अंग्रेजी वर्णमालाका साँवा अक्षर चिनेका बुद्धिले अमेरिका ओर्लिएका शुरूआती दिनमा अमेरिकी लवजको अंग्रेजी नबुझ्दा अनेक झन्झट भोगे। पछि उनैले डिपार्टमेन्ट र विद्यार्थीबीच समन्वय गराउने, विद्यार्थीलाई सहयोग गर्ने ‘मेन्टर’ को जिम्मा पाए। कमाइले सँगै अमेरिका आएका श्रीमती र छोरा पाल्न, पढाउन सके।
सन् २०१२ मा बुद्धिले वेस्टर्न मिसिगन युनिभर्सिटीबाट विद्यावारिधि गरे। विषय थियो– मोडलिङ ट्रान्समिसन अफ फोटोनिक क्रिस्टल वेभ गाइड मोड्स इनहान्स्ड बाई किर नन्लिनियारिटी। यसको प्रयोगबाट अप्टिकल फाइवर, बाइस्टेवल स्विच र वेबगाईड लगायत जुनसुकै विद्युतीय तरंगलाई कसरी बढी प्रभावकारी ढंगबाट उपयोग गर्न सकिन्छ भन्ने उनको भनाइ छ।
राईले सन् २०१८ मा हवाई विश्वविद्यालयद्वारा आयोजित प्यासिफिक सम्मेलनमा ‘स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोगबाट कसरी भौतिकशास्त्रको अध्ययन-अध्यापन गर्न सकिन्छ’ विषयक गोष्ठीको नेतृत्व पनि गरे।
विद्यार्थीका प्रिय गुरु राई अहिले कार्बोफिनको अनुसन्धानमा छन्। यो भनेको कार्वन तत्वलाई दुई आयामको संरचना परिवर्तन गरी अझ बढी उपयोगी बनाउने विधिको खोजी हो।
उँचाइको भौतिकशास्त्र
हवाई विश्वविद्यालयका दशमध्येको एक माउई कलेजमा इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, टेक्नोलोजी र मेडिकल कार्यक्रमका लागि आवश्यक भौतिकशास्त्रको पाठ्यक्रम डिजाइन गरेका राई हाल अध्ययन विदाको प्रक्रियामा छन्।
विदा स्वीकृत भएमा उनी सन् २०१९ मा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) र अमेरिकाको हवाई विश्वविद्यालयबीच उनकै सक्रियतामा भएको सम्झौता अनुरूप ज्ञान हस्तान्तरण तथा नेपाली विज्ञान समाजसँग काम गर्ने योजनामा छन्।
राईको अर्को रुचि उच्च उँचाइको भौतिकशास्त्र (साइन्स अफ हाई अल्टिट्युड) अध्ययन हो। “मलाई लाग्छ, उच्च भौगोलिक क्षेत्रको भौतिकशास्त्रबारे अलग पाठ्यक्रम आवश्यक छ”, उनी भन्छन्। यसका लागि सर्वाेच्च शिखर सगरमाथा क्षेत्रमा स्थापित पिरामिड ल्याबमा बसेर अध्ययन गर्ने उनको लक्ष्य छ।
सपनाको बाटो
एक दाजु र पाँच दिदीबहिनीका धनी राई कालान्तरमा आफू मात्रै एसएलसी उत्तीर्ण गर्ने सन्तान बने। तर, नयाँ पुस्ताहरूले भने अध्ययनमा प्रगति गर्न थालेका छन्। राईका छोरा अबुदित (२२) भौतिकशास्त्र अन्तर्गत क्वान्टम कम्प्युटिङ्ग विषयमा फ्लोरिडा स्टेट युनिभर्सिटीबाट विद्यावारिधि गर्दैछन्। स्वास्थ्यकर्मी श्रीमती सुजेड बोस्टनमा बस्छिन्।
अध्ययन अध्यापनबाट उब्रिएको समयमा उनी नेपालका गाउँघर आउँछन्, आफन्तहरूसँग रमाउन चाहन्छन्। एक वर्षअघि मात्र नेपाल जाँदा उनले क्यान्सरसँग लडिरहेकी दिदी छविसराका साथ सगरमाथाको छेउछाउ माउण्टेन फ्लाइट गरे। अमेरिकाको समृद्ध मानिने हवाई राज्यमा बस्ने उनलाई हिमाल र हवाई दुवै ‘स्वर्ग’ झैं लाग्छ। र, दुईमध्ये एकठाउँमा बुढ्यौली बिताउन चाहन्छन्।
बाल्यकालका संघर्षबाट यहाँसम्म आइपुग्दा राईलाई जीवनमा केही गर्न सकें भन्ने लागेको छ। यसका लागि उनी आफूले देखेको सपनालाई जस दिन चाहन्छन्। सपना मात्र देखेर हुँदैन, त्यसलाई पूरा गर्ने प्रतिबद्धता पनि चाहिन्छ। के हुन् त सपना पूरा गर्ने सूत्र ? जवाफमा राई विज्ञानको शैली अपनाउँछन्। भन्छन्– कडा मिहिनेत, नैतिकता र सम्मानपूर्वक व्यवहार।
(अमेरिकामा रहेका पत्रकार गोपाल गडतौलाले तयार पारेको यो रिपोर्ट १४ भदौ, २०७७ को हिमाल खबरमा प्रकाशन भएको छ ।) ttps://www.himalkhabar.com/news/117725