झापा, ८ साउन । भारतबाट दुई महिनाको शिशुको डायपरमा ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरीका अनुसार भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा मंगलबार साँझ करिब ५:१५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा अटो चालक भारतको किसनगञ्ज–१२ घर भई हाल बिर्तामोड–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, दुई महिनाका छोरा सोहेल आलम र सोही अटोमा सवार बिर्तामोड–५ निवासी ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।
प्रहरीले शंका लागेर जाँच गर्दा शिशुले लगाएको डायपरभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको ९ ग्राम ८५ मिलिग्राम (प्लास्टिकसहित) तथा ८ ग्राम ९४ मिलिग्राम (प्लास्टिकबाहेक) ब्राउन सुगर बरामद गरेको जनाएको छ।
घटनापछि लागूऔषध, अटो र चारै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






