Logo

शीर्ष नेताबाट भएको सहमतिमा नागरिक ढुक्क छैनन्: पौडेल



काठमाडौँ, ६ भाद्र । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शीर्ष नेताहरूले सहमति गरिरहँदा हाल चर्चामा रहेका प्रकरण ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।

उनले शीर्ष नेताहरूबाट भएको सहमतिमा नागरिकहरू ढुक्क नभएको पनि बताएका हुन् ।

आज सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमतिपछि बसेको प्रतिनिधिसभाको बैठकमा उनले अनुसन्धानको सीप नभएका व्यक्ति सहभागि छानबिन समितिले अनुसन्धान नहुने जिकिर गरेका थिए ।

‘बीचैमा प्रक्रिया रोकेर सीप नभएको मान्छेले गाडी हाइज्याक गर्‍यो भने गाडी गन्तव्यमा पुग्दैन, दुर्घटना हुन्छ,’ सांसद पौडेलले भने । उनले यस्तो दुर्घटना नहोस् भनेर कामना पनि गरेका हुन् ।

सदन खुल्नु सबैको लागि खुसीको कुरा भएको बताउँदै उनले भने, ‘सांसदले सदन अवरुद्ध गर्ने कुरा, डाक्टरले अस्पतालले बन्द गर्ने कुरा, शिक्षकले विद्यालय बन्द गर्ने कुरा कहिल्यै पनि राम्रो हुन सक्दैन ।’ उनले सबैको सहमतिमा संसद खुलाउने विषयको स्वागत पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्