Logo

‘शुक्रबार तिहारको कुनै पर्व छैन’



काठमाडौं, १६ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँले सुनाउनुभयो । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो ।

यो पर्व कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उहाँको भनाइ छ । यसैले गाई तिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह ९आत्म० पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्