Logo

शेयरमा कमाउँदै कलेजको शुल्क तिर्दै 



नेपालगञ्ज, १३ मङ्सिर । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
“हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छाँै,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने । उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए ।
“आवश्यक खर्च शेयर बजारबाट आएको छ”, तिमिल्सिना भन्छन् । एक हजार रुपैयाँ लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिए ।
“हाम्रो कलेजका धेरै साथीले शेयर बजारमा लगानी गरेका छन् त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गरेका छन्”, तिमिल्सिनाले भने । तिमिल्सिना एक वर्षदेखि शेयर बजारको प्राथमिक र दोस्रो बजारको कारोबारी हुन् ।
अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि शेयर बजारमा लगानी गरेर सफल व्यवसायी हुन् । दश जोड दुईको अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गरेका भट्टराईले शेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गरेका उनले शेयर बजारको स्वअध्ययन र अङ्गे्रजसँग सिकेर बजारमा छिरेको बताए । उनले भने,“अहिले म शेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु ।”
भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिए । उनले भने,“जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ ।”
इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी शेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले शेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताए ।
विद्यार्थीले रु एक सयमा खरिद गरेको शेयर रु दुई सयमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए ।
“विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ”, अधिकारीले भने । शेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।
अधिकारीले शेयर बजारको प्राथमिक शेयर धेरै जारी भएकाले पैसा होल्ड भएर त्यसको प्रभाव बजारमा पनि परेको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालमा जस्तो आइपिओ जारी गर्ने प्रचलन नभएको बताए । उनले भने,“बाहिरको बजारमा सबैले यहाँजस्तो आइपिओ हाल्ने चलन छैन र बोनस शेयरको चलन पनि छैन ।”
अधिकारीले केही लगानीकर्ताले एकै दिन रु ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक रु एक करोड ४५ लाखको शेयर कारोबार भएको बताए । करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्