काठमाडौँ, १४ पुस । बुधवार ११ अङ्कले घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
गएको भदौपछि पहिलो पटक नेप्से दुई हजारको विन्दुमा पुगेको हो । आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।







