काठमाडौँ, २९ चैत । शेयर बजार बुधवार उच्च अङ्कले बढेर हरियो भएको छ ।
ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो ।
नेप्से आज ९२ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो ।







