काठमाडौँ, १० वैशाख । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार नौ सय विन्दुभन्दा तल झरेको छ ।
शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० विन्दुमा झरेको हो ।
आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर घटेर राताम्मे हुँदा जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जलविद्युतलगायतका समूहको शेयर पनि उच्च अङ्कले घटेको छ ।
शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता शेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको बिहीवार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावरको तीन करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।







