काठमाडौँ, ९ साउन । आइतबार ६१ अङ्कले बढेको शेयर बजार आज पनि साढे ५४ अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से सोमवार ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको हो ।
सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकम पनि निकै बढेको छ । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।