काठमाडौँ, ३० भदौ । लगातार दुई दिन बढेको शेयर बजार बिहीवार भने उच्च अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।