काठमाडौँ, ४ माघ । मङ्गलवार झन्डै ३३ अङ्कले बढेको शेयर बजार बुधवार भने घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव १० विन्दुमा झरेको छ ।
आज जलविद्युत्, विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स,बीमा र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४८ वटा कम्पनीका एक करोड ३३ लाख चार हजार कित्ता शेयर चार अर्ब ९२ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।







