Logo

शैक्षिक सत्र सुरु हुनु अघि नै ताप्लेजुङमा पाठ्यपुस्तक



ताप्लेजुङ, ५ वैशाख । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो ।

यसवर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएको फक्ताङलुङ गाउँपालिका–६ महेन्द्र निम्न माध्यमिक विद्यालयका शिक्षक विवश केदेमले बताए ।

यस वर्ष अन्य जिल्लाभन्दा पहिले चैत २० गते नै ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरले जनाएको छ । शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक प्राप्त भएपछि सोहीअनुसार विद्यालयलाई बिक्री वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ । ताप्लेजुङका दुर्गम तथा हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । सिदिङ्वा गाउँपालिकाका विद्यालयले पाठ्यपुस्तक लगिसकेको अध्यक्ष मिश्रले जानकारी दिए । यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरकलगायत पालिकाका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको महासङ्घका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।

अन्तिम (फाइनल) परीक्षा सम्पन्न भएपछि बिदा भएका अधिकांश विद्यालय आइतबारदेखि मात्र खुल्दै छन् । फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानजन माध्यमिक विद्यालय आइतबारदेखि खुल्ने र सोही दिनदेखि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिने प्रधानाध्यापक किशोरकुमार राईले बताए । प्रधानाध्यापक राईले यस वर्ष समयमै पुस्तक आएकाले समस्या नरहेको र विद्यालय खुलेसँगै विद्यार्थीले पुस्तक पाउने भएको बताए । फुङलिङ नगरपालिका–८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले पनि यसवर्ष समयमै पाठ्यपुस्तक पाएको जानकारी दिए । आइतबारदेखि नै विद्यालय खुल्ने र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थाल्ने भट्टराईले बताए ।

पाठ्यपुस्तक समयमा नपाउँदा विगतमाजस्तो विद्यालय सञ्चालन र पठनपाठन तथा शिक्षण सिकाइमा अवरोध हुँदै आएको अवस्थाको अन्त्य भएको शिक्षक बताउँछन् । ताप्लेजुङमा तीन सय ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले भने धमाधम पाठ्यपुस्तक गइरहेको व्यवसायी महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्