
मलेसिया, १७ वैशाख । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
मलेसियाको पुत्रजयामा रहेको गृहमन्त्रालयमा भएको भेटवार्तामा उहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए ।
श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगिट हुनुपर्ने प्रस्ताव गरेका छन् । नेपाली कामदार मेहनती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए ।
नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उनीहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहरुबीच छलफल भयो ।







