काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले भने- “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिए ।
आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्दै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताए ।
संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उनले जोड दिए । यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।
“मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्”, डा कोइरालाले भने, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन्, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।”